यी दुई मन्त्री फिर्ता हुदै
१ असार काठमाडौँ । सङ्घीय सरकारबाट मन्त्री फिर्ता बोलाउने चर्चासँगै माओवादी केन्द्रका हितबहादुर तामाङ र एमालेका बलराम अधिकारीको पद ‘डेन्जर जोन’मा देखिएको छ ।
गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । तामाङ सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनापछि तामाङको पद धरापमा पर्ने सम्भावना देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई समर्थन गरेका दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई सरकारमा ल्याउने विषयमा केही दिनयता गठबन्धन दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।
एमालेका अध्यक्ष केपी ओलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नाउपा र जपालाई सरकारमा समेट्न एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्रीको प्रस्तावमा ओली सकारात्मक देखिएका थिएनन् ।
नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । जपाबाट अध्यक्ष सीके राउतले नेतृत्व गर्ने कि अन्यलाई पठाउने भन्नेमा कुनै निर्णय नभएको उपाध्यक्ष दीपक साहले बताए ।