नेकपा एसको अध्यक्षमा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : शनिबार, असार २ २०८१
12.8K
SHARES

१ असार काठमाडौँ । एकीकृत समाजवादी (एस) को असारमा हुने महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले प्रतिस्पर्धाको तयारी थालेका छन् । असार १६ देखि २० मा हुने महाधिवेशनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने भएका छन् । प्रतिनिधिका लागि योग्य हुन एमाले विभाजन हुनुअघिकै सदस्यलाई एसले मान्यता दिएको छ । २०७८ भदौमा एमालेबाट विभाजन भई एस गठन भएको हो । महाधिवेशनका लागि जिल्ला, प्रदेश, प्रवास, जनसंगठनबाट प्रतिनिधिको संख्या र निर्देशिक पारित गरी केन्द्रीय सचिवालय बैठकले शुक्रबार संख्या र विधि तय गरेको छ । एसका १ लाख ४६ हजार ७ सय संगठित सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा ४ सय २५ महिला, १ सय ५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधिको टुंगो लागेको छ । जसअनुसार भूगोलका सङ्घीय निर्वाचन क्षेत्र १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र २२, भारत प्रवास क्षेत्र ८, अन्य प्रवास क्षेत्र १५, केन्द्रीय सल्लाहकार परिषद् ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च ५, विभिन्न महासङ्घहरू ८५, जनसङ्गठनहरू ५६, केन्द्रीय कमिटीबाट ३ सय ४६, केन्द्रीय आयोगहरूबाट १ सय ४, केन्द्रीय विभागबाट ३२, केन्द्रीय कार्यालयबाट १३, मजदुर विशेष र आरक्षणबाट २० प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

सचिवालयले पारित गरेको प्रतिनिधि आचारसंहितामा समूह बनाएर (प्यानलमा) उम्मेदवार बन्न नपाइने प्रावधान राखिएको छ ।