राजदूत सिफारिस सच्याइन्छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १२ २०८१
3.7K
SHARES

११ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले हालै गरेको आठ देशका लागि नेपाली राजदूतको सिफारिस मेरिटको आधारमा गरेको दाबी गरेका छन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूतमा सिफारिस गरिएकाहरू कुनै पार्टी विशेषको भागबण्डाका आधारमा नगरिएको समेत जनाए । “अहिले योग्य मान्छे दिनपर्‍यो भनेको हो । कति मेरिटमा परे परेनन् त्यो थाहा होला । कति म्यानपावरसँग जोडिएका छन् भन्ने प्रश्न उठेको छ, यो प्रश्नका विषयमा गम्भीर छलफल गरेर नियुक्ति सच्याइन्छ । मेरिटको आधारमा यो अगाडि बढोस् भन्ने चाहन्छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

राजदूत सिफारिस गर्दा ५० प्रतिशत कूटनीतिक सेवा र ५० प्रतिशत राजनीतिक नियुक्तिका आधारमा गरिँदै आएको उनले बताए । सत्ता र बाहिरका दलहरूले भागबण्डाको आधारमा राजदूत सिफारिस गरेको भन्ने आरोप लगाउँदा आफूलाई नमिठो लागेको उनले सुनाए । “आफू समीकरणमा हुँदा भागबण्डा नहुने, अरु हुँदा भागबण्डा हुने भाष्य बनाउने त्यति नैतिक र उचित हुन्छ जस्तो लाग्दैन,” प्रधानमन्त्री प्रचण्डले भने ।