सत्ता गठबन्धनमा खटपट : कांग्रेस–एमालेको नयाँ गठबन्धन बन्दै
१७ असार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच गएको शनिबार तीन घण्टा भेटवार्ता भएपछि धेरैको जिज्ञासा छ– सत्ता गठबन्धन फेरिन लागेको हो ? देउवा श्रीमती आरजु राणालाई साथमा लिएर ओलीनिवास बालकोट पुगेका थिए । एमालेले यो भेटवार्तालाई गोप्य राख्न खोजे पनि सकेन । कांग्रेसका नेताहरूले भेटवार्ता भएको पुष्टि गरे । यसअघि पनि उनीहरूबीच गोप्य रूपमा भेटवार्ता हुँर्दै आएको स्रोतको दाबी छ । धेरैको बुझाइ छ, देउवा र ओलीबीच शनिबारको भेट सहमतिलाई ‘फाइनल टच’ दिन थियो ।
देउवा–ओलीको भेटपछि सत्ता गठबन्धनमा कम्पन आयो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार ओलीलाई भेटवार्ताका निम्ति सिंहदरबार बोलाए । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछाने पनि उक्त भेटवार्तामा सहभागी थिए ।स्रोतका अनुसार, आइतबारको भेटमा प्रचण्ड र ओलीले आपसमा सहज रूपमा कुराकानी गरेका थिएनन् । उनीहरूका बोलीले मात्र होइन, ‘बडी ल्याङ्ग्वेज’ले पनि त्यही बताइरहेको थियो । प्रचण्डलाई भेटेर सिंहदरबारबाट निस्किएपछि आइतबार ओली पाँच घण्टापछि मात्र बालकोटस्थित आफ्नो निवासमा पुगेका थिए । सोमबार बिहान पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएको छ । बिहान ९ बजेतिर सुरु भेटवार्ता मध्याह्नसम्म जारी रह्यो ।
गठबन्धनमा खटपट देखिएपछि प्रचण्डले सोमबार बेलुका बस्ने गरी सत्तासाझेदार दलका नेताहरूको बैठक बोलाएका थिए । त्यसअघि नै ओलीसँग उनले लामो छलफल गरेका हुन् । वर्तमान सरकारलाई समर्थन गरिरहेका साना दलका नेताहरू भने ओलीलाई बालकोटमा कुरिरहेका स्रोतको दाबी छ । प्रधानमन्त्री प्रचण्डनिकट स्रोतका अनुसार, माओवादी–एमालेबीच दूरी बढाउने र कांग्रेस–एमालेलाई निकट बनाउने प्रमुख दुई कारण छन् । ती हुन्, धितोपत्र बोर्डको अध्यक्ष र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा पक्राउ ।
स्रोतका अनुसार, झाको सम्बन्ध कांग्रेस र एमालेका केही नेतासम्म देखिएको छ । जसकारण कांग्रेस र एमाले निकट हुन पुगेका छन् ।कांग्रेस र एमाले नेताबीच गोप्य बैठकमा संविधान संशोधन गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतको जिकिर छ । शक्तिशाली आयोग बनाएर संविधान संशोधन गर्ने विषयमा छलफल भइरहेको हो ।
“संसदका दुई ठूला दल मिल्न त केही न केही कारण देखाउनुपर्यो, यसैका लागि संविधान संशोधनको कुरा अघि बढाइएको हो । तर, यो गर्नलाई होइन, भन्नलाई हो,” स्रोतले भन्यो ।