तत्कालिन नेपाली राजनीतिसँग मिल्दो नेपाली युवा र अमेरिकन युवतीको ‘लभ’ कथा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८१
4.1K
SHARES

१९ असार काठमाडौ । एमाले सचिवालय बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले सत्ता समीकरण फेरबदललाई जोडेर नेपाली केटो र अमेरिकन केटीबिचको लभको कथा सुनाएका थिए ।

यस्तो छ पाण्डेले सुनाएको कथा–

एकजना नेपाली केटो अमेरिका गएछ र अमेरिकन केटीसँग लभ गरेछ । लभ गरेपछि लिभिङ टुगेदर हुँदै एउटा बच्चा भएछ । केटीको आमा पनि उनीहरूसँगै बस्ने रहिछन् । केटा र केटीले आधाआधा लगानी गरेर उनीहरू बस्ने घर किनेका रहेछन् । बिदाको अघिल्लो दिन केटो अफिसबाट फर्किंदा बिदा मनाउने उद्देश्यसहित सपिङ गरेर घर फर्केछ । ऊ घर फर्केर खाना खान बसेपछि केटीले केटालाई भनिन्, ‘यतिजेञ्ल तिमी र म सँगै बस्यौँ तर अब म तिमीलाई छोडेर अर्कैसँग बिहे गर्ने भएँ । ऊ पनि मसँगै काम गर्ने केटा हो । म पर्सि उसैसँग चर्चमा गएर बिहे गर्छु ।’

केटीले त्यसो भनेपछि नेपाली केटो आश्चर्यमा पर्‍यो । केटीको कुरा सुनेपछि उसकी आमाले यति सज्जन ज्वाइँ किन छोड्छेस्, जवानीमा मात्तिन्छेस ? भनेर सम्झाइन् । तर केटीले जवानीमै हो मात्तिने, तिमी पनि जवानीमा मात्तिएकी थियौ नि भनेर जवाफ फर्काइ ।

त्यसपछि अर्को दिन बिहे गर्न भनेर आमालाई लिएर केटी चर्च गइ । तर केटो चर्चमा आएन । ऊ नआएपछि धोका दियो भनेर भुत्भुताउँदै पुरानै केटाकोमा फर्की । ऊ फर्केर आएपछि केटाले भनेछ, ‘जे–जे भयो भयो । सबै कुरा बिर्सेर मसँगै बसौँ, हाम्रो बच्चा पनि छ, मिलेर अघि बढौँ ।’

तर केटीले मैले अर्कैसँग विवाह गर्ने निर्णय गरेर तिमीसँगको विश्वास तोडिसकेकाले अब हामी सँगै बसे पनि विश्वास हुँदैन । शङ्का हुन्छ । बरु हामी छुट्टाछुट्टै बाटो लिएर जीवन बिताऔँ भनेर अलग्गै बस्न थालिछ ।

पाण्डेले नयाँ समीकरण बनेपछि माओवादीले विश्वासको मत लिन संसद् फेस गर्ने निर्णय गरिसकेको अवस्था, सरकारकै गृहमन्त्रीले कारबाही गर्न लागेपछि अपवित्र गठबन्धन भनेर टिप्पणी गरेको अनि हामीचाहिँ केही भएको छैन, तिमी हामी एउटै सरकारमा बसौँ भन्ने कुरा मिल्दैन भन्ने सन्देशसहित त्यो अमेरिकन केटीको जत्तिको इमानदारिता राख्नुपर्छ भनेर जोड दिएको बैठकमा सहभागी एक नेताले सुनाए ।