अहिले राजीनामा नदिनुहोस्, म सदन फेस गर्छु – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार २१ २०८१
8.8K
SHARES

२० असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन्। राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक अधिकार प्रयोग गर्ने बताएका हुन्। सोबमोजिम आफूहरू तत्काल राजीनामा नदिने सोचमा पुगेको  रास्वपाका सचेतक सन्तोष परियारले बताए।

‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो। अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो’, उनले प्रधानमन्त्रीको भनाइ सुनाउँदै भने, ‘हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ। उहाँले विश्वासको मत चाँडै लिनुपर्‍यो। हामी त्यतिबेलासम्म उहाँलाई साथ दिन्छौँ।’ यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्।

नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।  एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।