म अझै महामन्त्री हुँ – डा. मुकुल ढकाल
२६ असार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीबाट बर्खास्त भएपछि डा. ढकालले सभापति रवि लामिछानेविरुद्ध आगो ओकलेका छन् । आज पत्रकार सम्मेलन गर्दै उनले लामिछानेमाथि विभिन्न आरोप लगाए । सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट म निलम्बित भएको छैन,’ उनले भने, ‘मलाई रवि लामिछानेको क्लबबाट हटाइएको हो ।’सात दिनको म्याद राखेर स्पष्टीकरण सोधिएकोमा त्यो म्याद नसकिँदै कारबाही गर्न नपाउने ढकालले बताए ।उपसभापतिबाट निलम्बनको पत्र थमाइएकोमा पनि उनको असन्तुष्टि छ । सभापतिले अधिकार प्रत्यायोजन नगरीकन उपसभापतिले निलम्बन गर्न नसक्ने उनले तर्क गरे ।
‘राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान विपरीत स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको पत्र थमाउनु गलत छ । रवि लामिछानेको एलिट क्लबले पार्टी कार्यालय कब्जा गर्यो, त्यसैले मैले आज यहाँ आएर पत्रकार सम्मेलन गर्नुपरेको छ,’ उनले भने ।