यस कारण रोकियो लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ७ २०८१
4.9K
SHARES

७ साउन काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस कार्यक्रम स्थगित गरिएको छ । बिहान १० बजेको समय निर्धारण गरिएपनि अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको हो ।प्रदेश प्रमुख कार्यालय हेटौँडामा बिहान १० बजेका लागि समय माग गरिएको भए पनि अन्तिम समयमा स्थगित भएको कांग्रेस सांसद कुन्दनराज काफ्लेले जानकारी दिए । उनका अनुसार समय सीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको हो ।

कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले अब मंगलबार मात्र दाबी गर्ने उनले बताए । लामाले मंगलबार बिहान १०/११ बजे मुख्यमन्त्रीमा दाबी गर्ने उनको भनाई छ । एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम रोकिएको उनले बताए ।

सत्ता समीकरण परिवर्तन पछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका थिए । आइतबार सूचना जारी गरेर साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरिएको थियो ।