हामीलाई भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड
१२ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले राम्रो कामको पहल गर्दागर्दा हटाएर जनतामा जाने आधार तयार भएको बताएका छन् ।पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध, जनतालाई सेवा प्रवाह र अन्तर्राष्ट्रिय जगलाई सन्तुलन मिलाउने कुरामा समग्रमा राम्रो पहलकदमी लिएका ब्रिफिङ गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।
प्रचण्डको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘यो पहलकदमी लिँदा हामीलाई हटाइएको छ । त्यसलाई हामीले अवसरको रूपमा लिनुपर्छ । जनतामा जाने, हाम्रो वर्गसँगको कडी कहीँ न कहीँ टुटेको थियो । त्यसलाई सुदृढ गर्ने अवसर प्राप्त भएको छ ।’उनले आजको बैठकमा पार्टीको अबको रणनीति र समीक्षा गर्दै ६ जनाले आफ्नो धारणा राखेको बताए ।
उनले भने, ‘आज ६ जनाले आफ्नो कुरा राख्नुभएको छ । सदन र सडकमा प्रभावकारी बनाउनेदेखि संगठन र जनपरिचालनको विषयमा पनि छलफल भएको छ। अब हामीले अभियान चलाउँछौँ। यसले मार्गचित्र तयार परेपछि स्थायी कमिटी र केन्द्रीय समितिले आधार तयार गर्छ ।’उनले बैठक आइतबारसम्म लम्बिन सक्ने बताए ।