माओवादी केन्द्रको बैठकमा महरा र पौडेल अनुपस्थित
१५ साउन काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनदेखि बस्दै आएको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा र सचिव देवेन्द्र पौडेल अनुपस्थित रहेका छन् । सत्ताबाट हटेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बैठक बोलाएका थिए । पाँच दिनसम्म नेताहरूले विचारको विकास र पार्टी निर्माण सम्बन्धमा सघन छलफल गरेका छन् । तर महरा र पौडेल सुरुको दिनदेखि बैठकमा अनुपस्थित रहेका हुन् ।
महत्त्वपूर्ण बैठकमा दुई नेता अनुपस्थित रहनुको कारण भने फरक रहेको छ । महरा बिरामी परेका र पौडेल काम विशेषले अमेरिका रहेका हुनाले बैठकमा सहभागी नभएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
विभिन्न रोगबाट पीडित रहेका उनी अहिले निवासमै आराम गरिरहेका छन् । यता सचिव पौडेल पारिवारिक काम विशेषले असारको तेस्रो सातादेखि अमेरिकामै रहेका छन् । एक हप्तामा उनी स्वदेश फर्किँदै छन् ।