हामी पदाधिकारीको नैतिक धरातल भएन, सामूहिक राजीनामा दिऔँ – उपमहासचिव गजुरेल


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १६ २०८१
3.5K
SHARES

१६ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले पदाधिकारीमा नैतिकता नभएको भन्दै सामूहिक राजीनामाको प्रस्ताव राखेका छन् । गएको शुक्रबारदेखि मंगलबार (हिजो)सम्म चलेको पार्टीको पदाधिकारी बैठकमा उनले विधान उल्लंघन गरेको भन्दै त्यसकै जिम्मेवारी लिनुपर्ने प्रस्ताव राखेका हुन् ।

“हामी २१ जनाको पदाधिकारी छौँ । विधानअनुुसार १५ जना हुनुपर्ने । स्थायी समिति ४६ जना छ । त्यसको एकतिहाइ हुनुपर्नेमा हामी बढी भयौँ । हामीले विधानको उल्लंघन गयौंँ । हामी नै विधानको उल्लंघन गरेर बस्यौँ । त्यतिखेर बस्नुहुन्नथ्यो । गलत गरियो भन्नेसहित मैले ६ बुँदामा बैठकमा कुरा राखेको थिएँ,” उनले क्यापिटल हेडलाईन संग  भने, “स्थायी समिति बैठकमा पेस गर्ने गरी अध्यक्षसहित सबैले राजीनामा दिऔँ भन्ने कुरा राखेको छु ।”

उनले आफू उपमहासचिव पदबाट राजीनामा दिन तयार रहेको उल्लेख गरे । “कोही पनि राजीनामा दिन तयार हुनुहुन्न भने म चाहिँ तयार छु, मैले मेरो भागको नैतिक जिम्मेवारी लिन्छु् । त्यसका लागि अध्यक्षको अनुमति मागेको हुँ मैले राजीनामा दिएको छैन,” उनले भने ।

पार्टी निर्माणको सुरुआत पदाधिकारीबाट हुुनुपर्ने धारणा उनले बैठकमा राखेका हुन् । “हामी पदाधिकारीको नैतिक धरातल भएन । अरुको मात्रै टिकाटिप्पणी गरेर के हुन्छ ?,” उनी भन्छन्, “हामीबाटै सुरु गरे पार्टी निर्माणको दिशामा जान्छ । माओवादीको बुद्धि आएन भने जनमत घट्दै जाने हो । हामी घेराबन्दीमा परिसकेका छौँ । माओवादीले मात्रै होइन देशले दुःख पाउँछ नि !” माओवादी पदाधिकारी बैठकमा पार्टी निर्माणका विषयमा समीक्षा गरेको थियो ।