तीन दलबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा सहमति


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१
4.1K
SHARES

१७ साउन काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलबीच सहमति जुटेको छ । बिहीबार सिंहदरबारमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठकबाट त्यसमा सहमति गरिएको हो ।प्रतिवेदन तयार पारी शीर्ष नेताहरूलाई बुझाउने काम भने बाँकी रहेको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले बताए । टीआरसीसँग सम्बन्धित असहमतिका विषयलाई कार्यदलको बैठकबाट टुंगोमा पुर्‍याइएको र शतप्रतिशत सहमति भएको उनले जानकारी दिए ।

शुक्रबार (भोलि) वा शनिबार (पर्सि)सम्म प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाइने उनले बताए ।पीडितलाई केन्द्रमा राखेर र सर्वोच्च अदालतका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको उनले जानकारी दिए । चालु संसद् अधिवेशनबाटै विधेयक पारित गरेर अघि बढ्ने उनको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुरक्षाकर्मीका निम्ति आवश्यक राहत परिपूरण, बहिर्गमित योद्धाका बारेमा पनि स्पष्ट छलफल गरिएको बताए । उनले गम्भीर मानव उल्लंघनका सन्दर्भमा नियतवश वा स्वेच्छाचारी ढंगले भन्ने पनि उल्लेख गरिएको जानकारी दिए । पीडितले छिटोभन्दा छिटो न्याय पाउने उनको भनाइ छ ।नेपालको शान्ति प्रक्रियाको मौलिकता र विशेषताका आधारमा नै दलहरूले छलफल गरी सहमति गरेको उनले बताए ।नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री समेत रहेका रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा कार्यदलमा छन् ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको सहभागिता थियो ।बैठकमा पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधान, नेपाली सेनाका उपरधी जीवनप्रसाद दाहाललगायत अधिकारी पनि सहभागी थिए ।