प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै, लगत्तै अमेरिका भ्रमण


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १७ २०८१
3.2K
SHARES

१७ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो अर्को महिना थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन्।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन्।

भ्रमणको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भ्रमणलाई दुईपक्षीय बनाउने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए।सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ।यसबीचमा आकस्मिकरूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्रीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ।

सेप्टेम्बर १० मा संयुक्त राष्ट्र संघको ७९ औँ महासभा हुँदै छ। थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्नेछन्। सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ।