जीबी राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटियो – सभापति थापा
२२ साउन काठमाडौ ।अहिले सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
सभापति सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन विशेष समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिँदै अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य सँगसँगै अगाडि बढाउने बताए ।
‘समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउँछौँ’, उनले भने, ‘समितिको प्रतिवेदन पारदर्शी, जवाफदेही र विश्वसनीय बनाउन सबै सत्य तथ्य खोज्छौँ ।’
समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ । तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिए ।उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन् । समितिले गरेको अनुसन्धानका क्रममा राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताए ।
आज समितिले संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), सहकारी पत्रकार समाज (सिजेएन) र आर्थिक पत्रकार सङ्घ (नाफिज) सँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे सुझाव लिएको छ ।