बंगलादेशको आन्दोलनले सरकार नराम्रोसँग डराएको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २६ २०८१
6.4K
SHARES

२६ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन् ।  अहिलेको सरकारले बहुमतको घमण्ड गरेर संविधान संशोधन गर्न चाहेको भए पनि सम्भव नभएको प्रचण्डले बैठकमा ब्रिफिङ गरेको एक स्थायी समिति सदस्यले बताए । ती सदस्यले भने, ‘अध्यक्ष कमरेडले ब्रिफिङ गर्नुभयो । यो सरकारले संविधान संशोधन गरेर दुई पार्टी सिस्टममा लिन चाहेको छ । यस्तो अवस्थामा अन्य साना दलहरू पनि विपक्षमा हुनेछन् । आन्दोलनको नेतृत्व हामीले गर्नुपर्छ । हामीभित्र भएका समस्याहरू अहिलेदेखि नै समाधान गरेर जा‍औँ ।’

बंगलादेशको आन्दोलनले शासकहरूलाई सचेत गराएको प्रचण्डकाे टिप्पणी थियाे । शुक्रबार सुरु भएको स्थायी समितिको बैठकमा प्रचण्डले शासन सत्तामा हुँदा जे गरे पनि हुन्छ भन्ने सोच भएको अहिलेको सरकारलाई झस्काएको दाबी गरेका छन् ।

सरकार भ्रष्टाचारी मिलेर बनेकाले आन्दोलन आवश्यक रहेको प्रचण्डले बैकठमा बताएका थिए । प्रचण्डको भनाइ भन्दै एक स्थायी समिति सदस्यले भने, ‘यो सरकार भ्रष्टाचारी जोगाउन बनेको हो । सरकारमा नै भ्रष्टाचारीहरू सहभागी छन् । यो कुरा जनताले राम्रोसँग बुझेका छन् । त्यसैमा बंगलादेशको आन्दोलनले सरकार नराम्रोसँग डराएको छ । हामीले पनि आन्दालनको तयारी गर्नुपर्छ ।’

बैठककाे सुरुमै प्रचण्डले ब्रिफिङ गरेका थिए । ब्रिफिङमा उनले बहुमतका आधारमा जे पनि गर्न सक्छौँ भन्ने चिन्तन विद्युत् प्राधिकरणका दुई जना सदस्यको स्टेअर्डरबाट भत्केको बताएको स्थायी समिति सदस्य कमला रोकाले बताइन् । उनले भनिन्, ‘सरकारले चाहँदैमा अहिले मन नपरेका, अर्को सरकारले नियुक्त गरेका मान्छेलाई हटाउन सक्ने अवस्था छैन । दुईतिहाइ बहुमतको घमण्डले संविधान संशोधन गर्न सहज छैन । थ्रेसहोल्ड बढाएर दुई पार्टी सिस्टममा लैजान चाहेका छन् तर त्यो सहज छैन ।’