सरकार ढाल्न कुनै समस्या छैन – उपमहासचिव पुन
२६ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक भेलामा उनले सरकार लामो समय नचल्ने जिकिर गरे ।सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको उनले उल्लेख गरे । दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (१०० दिन) कटाउन मुस्किल रहेको बताउन थालेको उनको भनाइ थियो । आफूहरूको प्राथमिकतामा सरकार नरहेको उनले बताए । तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनले जिकिर गरे ।
“कांग्रेस–एमालेकै नेताहरूले हामीलाई सरकारले हनिमुन पिरियड कटाउँछ कि कटाउँदैन भन्न थालेका छन् । संसद्मा र बाहिर पनि एमाले–कांग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन्,” पुनले भने, “किनभने, संसद्को अंकगणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरूले बुझेका छन् । सरकारका लागि हामीलाई कुनै हतारो छैन । कुनै अप्ठेरो पनि छैन । चाह्यौँ भने हामी छिट्टै सरकारमा जान सक्छौँ । अहिलेको गणित कसैले बदल्न सक्दैन ।”
नयाँ सरकार बनेपछि कांग्रेस–एमालेमा आन्तरिक किचलो बढेको उनको बुझाइ छ । एमालेले लुम्बिनी प्रदेशमा दलका नेताबाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाएको, त्यसपछि दलका नेताले राजीनामा दिएको, नेकपाकालमा केपी ओलीविरुद्धको संघर्षमा माधव नेपाललाई साथ दिएका नेताहरूलाई पाखा लगाइएको र कांग्रेस–एमाले दुवै दलले केही गरौँ भन्ने भावना भएकालाई रोकेर विवादित पृष्ठभूमिका र राज्य दोहनमा संलग्नहरूलाई मन्त्री बनाएका कारण असन्तुष्टि चुलिएको उनको भनाइ थियो ।