२७ साउन काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताबीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यकालभर काम गर्न दिने अनौपचारिक सहमति भएको छ ।पछिल्लो समय कुलमानलाई हटाउन लागिएको भनेर ‘र्युमर’ फैलाइएको छ । त्यसपछि कांग्रेस–एमालेका शीर्ष तहका नेताबीच घिसिङलाई कार्यकालभर व्यावसायिक रूपमा काम गर्न दिने विषयमा छलफल भएको हो ।घिसिङलाई राम्रो काम गर्दागर्दै हटाउने तयारी भयो भनेर हुँदै नभएको हल्ला फैलाउँदै आन्दोलन समेत सुरु भएको छ । शनिबार मात्रै कुलमानलाई हटाउन पाइँदैन भन्दै माइतीघरमा आन्दोलन समेत भएको थियो । आन्दोलन अराजक भएपछि केही आन्दोलनकारीलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
एमाले र कांग्रेसका नेताहरूले घिसिङलाई व्यावसायिक तरिकाले काम गर्नलाई कुनै बाधा अवरोध नहुने वातावरण निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भनेको एक नेताले बताए ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राम्रो काम गर्ने प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सरकारले अवरोध गरिरहेको धारणा संसद्मा राख्ने र सडकमा पार्टीकै अप्रत्यक्ष संलग्नतामा आन्दोलन गराएर आफ्नो पक्षमा माहोल बनाउन खोजिरहेको छ । तर त्यो सत्य नभएको भन्दै कांग्रेस–एमालेले राम्रो काम गर्दागर्दै कोही हट्न नपर्ने र व्यावसायिक तथा जनताको पक्षमा काम गर्नेलाई सत्तारुढ दलबाट कुनै अवरोध नहुने जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रो काम गर्ने राज्यका जुनसुकै निकायमा रहेका राष्ट्रसेवकलाई सरकारले थप राम्रो गर्न सहयोग गर्ने सार्वजनिक रूपमै बताउँदै आएका छन् । व्यावसायिक र जनपक्षीय काम गर्ने योजना ल्याउनेलाई बजेटको व्यवस्था जसरी पनि गरिने प्रधानमन्त्री ओलीको भनाइ रहँदै आएको छ ।