२० वर्षमा विवाह गरेर छिटो सन्तान जन्माउनुहोस् – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
4.3K
SHARES

२९ साउन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धेरैलाई रोजगारी दिन साना उद्यमशीलताका कार्यक्रमसहितको योजना ल्याउनेबारे सोचिरहेको बताए ।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका  लागि सोच्नुपर्ने बताए । उनले हाल जनसंख्या वृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नुपर्ने बताए ।उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिइएकाले बच्चाहरू अभिभावकबिहीन भएर सडकमा बस्न नमिल्ने बताए ।

सम्मेलनबाट प्राप्त पारित घोषणापत्रका विषयहरूलाई सरकारले कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले आगामी असोजमा हुने राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा पनि घोषणापत्रका विषय प्रतिविम्बित गर्ने बताए ।