प्रतिगमनमा जान सकिन्न – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ३० २०८१
2.1K
SHARES

३० साउन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन भनेर प्रतिगमनमा जान नसकिने बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘संविधान संशोधन जरुरी छ । यसको अर्थ प्रतिगमन गर्छ भनेर कसरी सोच्न सकिन्छ ? जनप्रतिनिधि भएका छौँ र वाचा बन्धन गरेका छौँ । लिखित हस्ताक्षर गरेका छौँ,’ उनले भने ।

संविधान संशोधनको दस्तावेज रहेको उनको भनाइ छ । लोकतन्त्रलाई प्रभावकारी बनाउन र समायानुकूल बनाउन र सरकारबाट डेलिभरी दिन संविधानको धारा संशोधन गर्ने उनले बताए । संविधान संशोधन भन्दैमा जे मन लाग्यो त्यो गर्ने नभएको प्रधानमन्त्री ओलीले बताए ।

‘संधिवान संशोधन परामर्श र सहमतिका साथ गरिन्छ । जसोतसो दुई तिहाइ त पुग्छ । सर्वस्वीकार्यताको प्रयास गरिन्छ । त्यसअन्तर्गत संविधान संशोधन गरिन्छ,’ उनले भने । संविधानका जानकारसँग परामर्श लिने र आफ्नो अनुभवका आधारमा संविधान संशोधन गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘संविधानप्रति कसैलाई माया लागेको, कसैलाई नलागेको अवस्था छैन । मिलेर बनाएका हौँ, मिलेर कार्यान्वयन गर्छौँ,’ उनले भने ।