पार्टी फुट्दैन ,नेतृत्व पनि फेरिँदैन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ३२ २०८१
12.1K
SHARES

३२ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)को साताव्यापी स्थायी कमिटी बैठकले पार्टी विभाजनको अवस्थामा नरहेको र नेतृत्व पनि अहिले परिवर्तन नहुने निष्कर्ष निकालेको छ । बिहीबार सकिएको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो  बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर प्रश्न उठाउँदै नेतृत्व परिवर्तन अहिलेको आवश्यकता रहेको लिखित धारणा प्रस्तुत गरेका थिए । उनले प्रचण्डलाई नेतृत्व छाडेर पार्टीका तेस्रो पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न भनेका थिए ।

तर, प्रचण्डले बिहीबार सबै प्रश्नको जवाफ दिँदै अहिले नेतृत्व फेर्ने कुरा ठिक नभएको बताए । राम्रो काम गरेर सरकारबाट बाहिरिनासाथ नेतृत्व फेर्ने कुरा गर्नु उचित नभएको उनले बैठकमा जिकिर गरे । “मलाई नेतृत्वमा बसिरहने मन त होइन । अहिले नेतृत्वमाथि प्रश्न उठाउनुको औचित्य छैन । सरकारले राम्रै काम गरेर निस्किएको बेला नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा उचित हुँदैन । असफल भएर आएको एउटा कुरा हो । त्यस्तो बेलामा त नेतृत्वको सम्मान पो गर्ने हो,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

उनले पार्टी विभाजन नै हुने हो कि भनेजसरी बाहिर चर्चा भइरहेकाले त्यसबारे प्रस्ट्याउन नेताहरूलाई निर्देशन पनि दिएका छन् ।  “माओवादी पार्टी विभाजन हुने हो कि भन्ने जसरी बाहिर चर्चा भइरहेको छ । पार्टीका नेताहरूले नै यथार्थ कुरा बाहिर लैजानुस्,” बैठकमा प्रचण्डले भनेका छन् । स्थायी कमिटी बैठकमा शर्माले नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए । उनले प्रचण्डमाथि विभिन्न प्रश्न उठाएका थिए । उनको प्रस्तावले तरंग नै पैदा गरेको थियो । बिहीबारको बैठकमा शर्माले आफूले नेतृत्वको भूमिकालाई नयाँ ढंगबाट परिभाषित गर्नुपर्ने धारणा राखेको प्रस्टीकरण दिएका छन् ।

“नेतृत्वको भूमिकालाई नयाँ ढंगबाट परिभाषित गर्नुपर्छ कि भन्ने कुरा हो । नेतृत्व फेरिहाल्नुपर्छ भनेको छैन । वैचारिक राजनीतिक नेतृत्व हुने कि, आयोजक समितिमा बदल्ने कि भन्ने कुरा गरेको हो,” उनले बैठकमा भनेका छन्,“ अध्यक्षको सहमतिबाहेक अर्को पुस्तामा जाने भन्ने कुरा उठाइएको होइन । पार्टी नेतृत्वका लागि नै राम्रो हुन्छ कि भन्ने मेरो कुरा हो ।”

बैठकबाट बाहिरिँदा प्रचण्डले जनार्दनले पार्टी विभाजन गर्छन् भन्ने कुरा गलत भएको बताए । “यो सरकारका बारेमा मैले संसद्‌मै बोल्ने तयारी गरेको छु,” उनले भने, “पछिल्ला दिनमा पार्टी फुट्छ भन्ने भ्रम पनि चिरिएको छ । प्रभाकरले पार्टी फुटाउँछन् भन्ने माहोल बनेको छ, त्यो गलत हो । नेतृत्वमाथि उठाइएको प्रश्न हल भइसक्यो ।” पार्टी उपमहासचिव हरिबोल गजुरेलका अनुसार पार्टी बैठकमा राखिएका नेताहरूका सुझावमाथि केन्द्रीय कमिटी बैठकसम्म नै छलफल गर्ने निर्णय भएको छ ।