रविलाई कसैको दबाबमा पक्राउ गरिएको होइन – प्रधानमन्त्री
६ कार्तिक काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको अवगत गराए प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको स्पष्ट गरे ।
मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनुु दिनुु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो’, प्रधानमन्त्री ओलीले भने, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन ।