दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
1.9K
SHARES

२६ चैत खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ । राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको हो । नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् ।जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यो नगरपालिकाको नाम यसअघि दुईपटक परिवर्तन गरिएको थियो । सुरुमा दिक्तेल नगरपालिकाको नामले स्थापना भएको यो पालिका देशमा सङ्घीयता लागू भएसँगै स्थानीय तहको नामकरण गर्ने क्रममा रुपाकोट मझुवागढी नगरपालिका बनाइएको थियो ।

अहिलेको नाम (दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका) लामो भएको जनगुनासो आएकाले सर्वदलीय तथा सर्वपक्षीय छलफल एवं बैठकमार्फत सहमतिमा छोटो बनाउने उद्देश्यसहित नाम परिवर्तनको प्रस्ताव सार्वजनिक गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिएका छन् । “देश तथा विदेशबाट हाम्रो नगरपालिकाको नाम लामो भयो भन्ने गुनासो आएको छ । यो विषयमा कार्यपालिका बैठकमा छलफल भयो”, उनले भने, “बैठकमा राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नगरपालिकाको नाम परिवर्तन गर्नेगरी समझदारी भएको छ । यसलाई चाँडै सर्वपक्षीय बैठक राखेर टुङ्ग्याउँछौँ ।”