ग्रे लिष्टबाट नेपाललाई बाहिर निकाल्न गृहकार्य सुरु
२६ चैत काठमाडौं । नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कार्य योजना अनुसार कार्य गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिष्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको जानकारी दिए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे ।