सरकारले आयोगले सुझाएका विषयहरू चरणबद्ध कार्यान्वयन गर्छ – अर्थमन्त्री पौडेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २९ २०८१
1.2K
SHARES

२९ चैत काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरूलाई सरकारले चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रवार मन्त्रालयमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आयोगले सुझाएका विषयहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने हिसाबले योजनाहरू बनाउने प्रतिबद्धता जनाएका हुन् ।

उनले आयोगद्वारा प्रस्तुत गरिएको अन्तरिम प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिरहेको बताए । अर्थमन्त्री पौडेलले विगतमा आयोग बनाउने, आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने गरेको अनुभव रहेको भन्दै वर्तमान सरकारले दराज सजाउनका लागि आयोग नबनाएको बताए ।

आयोगको प्रतिवेदन राष्ट्रलाई आर्थिक क्षेत्रका समस्याहरूबाट माथि निस्किन सहयोग पुग्ने उनले बताए ।  पौडेलले आयोगको प्रतिवेदन अर्थतन्त्रका समस्या चिन्न र चिर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।