आयोगका सुझाव अनुसार बजेट बनाऔं – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१
2K
SHARES

३१ चैत काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव अनुरूप बजेट निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।अर्थ मन्त्रालय अन्तर्गत राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीति सम्बन्धी अन्तक्र्रियामा उनले आयोगको सुझाव अनुरूप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने धारणा राखे ।

उनले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोड दिए ।सरकारले राजस्व संकलनलाई मात्र प्राथमिकतामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको उनको धारणा छ ।

‘आयातमा आधारित हाम्रो अर्थतन्त्रमा भन्सारका दर उच्च छन् । यसले एकातर्फ नेपाल भारतस्थित खुला सिमानाका कारण चोरी पैठारीलाई प्रोत्साहन गरेको छ,’ अध्यक्ष ढकालले भने, ‘करका दरभन्दा दायरा बढाउनु पर्छ । राज्यले आयात प्रतिथापनका लागि उत्पादनलाई जोड दिनुपर्छ, खनिजजन्य वस्तु निर्यात खुलाउनु पर्छ ।’विगत दुई वर्षदेखि रेमिट्यान्सको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताल लगायतमा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समेत समस्या भोग्नु परेकाले यसलाई पुनः सुचारु गर्नेतर्फ पहल गर्न सरकारलाई सुझाव दिए ।