एनआईसी एशियाको नाफा साढे १५ करोड
७ वैशाख काठमाडौ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
एनआइसी एशिया बैंकको नाफासँगै प्रमुख सूचकहरु घटेका छन् । खुद ब्याज आम्दानी घटेको र इम्पेयरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४१ पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ । बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत रहेको छ ।