गणतन्त्र पक्षधरहरु एक ठाउँमा आउनेबित्तिकै राजावादीहरूको केही रहनेछैन – प्रचण्ड
१७ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट अझै विनियोजन गर्न नसकेको बताएका छन् ।
नुवाकोटको सूर्यगढी गाउँपालिका- ३ स्थित वागेश्वरी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई सम्बोधन गर्दै उनले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा जोडबल गरेकै कारणले शिक्षा विधेयक संसदमा पेश भएको बताए ।
प्रचण्डले भने, ‘जनतामा देखिएको असन्तुष्टि र आक्रोश गणतन्त्रप्रति होइन । कतिपय नेताहरूले भ्रष्टाचारीको संरक्षण, विभेद गर्नेलाई संरक्षण गर्न खोजेको देख्दा जनता वाक्क छन् । आर्थिक समृद्धि जनअपेक्षाअनुसार हुन सकेको छैन, तर जनतामा देखिएको आक्रोश गणतन्त्रप्रति होइन, नेता र नेतृत्वहरूको कारणले हो ।’
उनले नेपाली जनता पछि हटेर फेरि वंशवादी, नेपाललाई गरिब देश बनाउने, हत्या र बलात्कार गर्नेहरूले फेरि आएर देश बनाउँछन् भन्ने कुरामा कुनै सत्यता नभएको दाबी गरे ।
उनले शान्ति सम्झौता र गणतन्त्रका पक्षधर एक ठाउँमा आएर खबरदारी गर्नेबित्तिकै राजावादीहरूको केही नरहने बताए ।