प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा कांग्रेस नेताको आपत्ति
१८ जेठ काठमाडौं । नेपाली कांग्रेसका नेताहरू शंकर भण्डारी र राजेन्द्र बजगाईंले पृथ्वीनारायण शाहका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै नेताद्वयले आपत्ति जनाएका हुन् । उनीहरूले पार्टीले समर्थन दिएका प्रधानमन्त्रीको अभिव्यक्ति सह्य नभएको भन्दै वैकल्पिक गठबन्धनका लागि लाग्नुपर्ने बताएका छन् । “बौद्धिक वर्गसामु कांग्रेस समर्थित प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति मेरो आपत्ति छ। राष्ट्र निर्मातालाई अपमान गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई छैन,” नेता भण्डारीले भने, “म यसबारे पार्टी सभापतिको प्रतिक्रियाको प्रतीक्षामा छु । यदि सभापति र पार्टीका तर्फबाट कुनै प्रतिक्रिया नआए मेरै अगुवाइमा केन्द्रीय समिति आह्वान गरी यो सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नेछौँ ।”
सांसद राजेन्द्र बजगाईंले पृथ्वीनारायण शाह र कांग्रेसप्रतिका अभिव्यक्ति पनि आपत्तिजनक भएको बताए । उनले ओलीको रबैया कायम रहे वैकल्पिक गठबन्धनको गृहकार्यमा कांग्रेस जुट्ने समय आएको बताए । “मैले सुनेअनुसार हाम्रो सम्माननीय प्रधानमन्त्रीले महान् राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ। यदि यो सत्य हो भने, म एक गोर्खाली र नेपाली कांग्रेसको प्रतिनिधिको हैसियतले भन्छु—हामीले एमालेसँगको गठबन्धन तत्काल तोडेर वैकल्पिक गठबन्धनमार्फत नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ,” बजगाईंले भने, “म मेरो संसदीय दलका नेताहरूसँग यो विषयमा गम्भीर पहल गर्न जोडदार आग्रह गर्दछु ।”
उनले सोही कार्यक्रममा कांग्रेसका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पनि अस्वीकार्य भएको बताए ।“प्रधानमन्त्रीले हाम्रो पार्टीप्रति देखाएको गलत आशय र व्यक्त ‘झगडा आँगनमा नगर’ भन्ने हस्तक्षेप पनि हामीले सहन सक्दैनौँ,” उनले भने, “यो नेपाली कांग्रेस हो— यहाँ विचारको फरक, बहस र असहमतिलाई सम्मान गरिन्छ, दबाइँदैन ।”