सत्तारूढ दलहरू एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढे – महासचिव गुरुङ


Capital Headline
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
931
SHARES

४ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।

राज्यको नेतृत्वकर्ताहरू शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उनको भनाइ छ । उनले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरे । दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरू एकअर्कालाई सिध्याउने र ध्वस्त गर्ने मानसिकताले अघि बढिरहेको समेत बताए ।

“मुलुकमा अहिलेको समस्या विकसित हुनुको कारण राज्यसत्ताको नेतृत्व गर्ने र राज्यसत्ताभित्रको कोर टिम सर्वसत्तावादमा फस्न पुगेको कारणले हो । त्यसकारण त्यो सर्वसत्तावादी तथा एकाधिकारवादीले कतै पनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने, सहमति कायम गर्न नदिने तथा एकले अर्कोलाई विस्थापित गर्ने ढंगले अघि बढ्ने दिशातर्फ गइरहेको छ,” उनले भने ।