मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ९ २०८२
1.7K
SHARES

९ असार काठमाडौं । प्रधानमन्त्री केपी ओलीले परिवर्तनको पक्षमा सम्झौता नगरी आफू यहाँसम्म आइपुगेको दाबी गरेका छन् ।राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले राजतन्त्रकालमा गणतन्त्र उच्चारण गर्दासमेत गोली हान्ने अवस्था रहँदा पनि आफूले परिवर्तनको झन्डा नछाडेको बताए ।

उनले भने, ‘गणतन्त्र भन्नु निरंकुश राजतन्त्रकालको कालरात्रिमा, निर्दलीय प्रणाली बसेको ठाउँमा, त्यति बेला गणतन्त्र र लोकतन्त्रको झन्डा बोक्न सहज थिएन । तत्काल हाम्रो ५ जना सार्थीलाई जेलबाट निकालेर जंगलको छेउमा लगेर गोली हानेर मारियो । अरू साथीहरूलाई जहाँ भेट्यो, त्यही मार्‍यो । विभिन्न ढङ्गले हत्या गरियो, जोखिमपूर्ण बाटो थियो ।’

अध्यक्ष ओलीले आफूलाई ५३ वर्ष जेल सजाय तोकेको स्मरण गरे । उनले थपे, ‘मलाई ५३ वर्ष कैद सजाय सुनाएको थियो । त्यो घट्दै घट्दै हामीले १० वर्षमा ल्यायौँ । १० वर्षमा मुद्दा सिध्याएपछि पनि लाजसरम नमानी विनामुद्दा ४ वर्ष राख्यो, छोड्दैन के गर्ने ? १४ वर्ष मलाई थुन्यो । अबको आन्दोलन त्यो जोखिमपूर्ण छैन ।’