स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
१३ असार सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।
वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले गरेको पहल अनुकरणीय रहेको बताए ।
“स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुन्छ”, उनले भने, “यस्तो कार्य अन्य वडाका लागि प्रेरणादायी बन्छ ।”गोलबजार–१० वडाध्यक्ष उपेन्द्रकुमार मुखियाले साइकल वितरणको उद्देश्यबारे भने, “स्वयंसेविकाले घरदैलोमै पुगेर सेवा दिनुपर्छ । उनीहरू टाढाटाढासम्म पैदल हिँड्न बाध्य थिए । अब साइकल पाउँदा उनीहरूको काम सहज र प्रभावकारी बन्ने विश्वास छ ।”