मरेको सिनो काँधमा हालेर हिँड्न सकिँदैन – नेतृ झाँक्री


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १५ २०८२
1K
SHARES

१५ असार बुटवल । नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्ष्यित गर्दै ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् । उनले हिजो गरेको सो भाषणले नेकपा एसभित्र हलहल मच्चिएको छ ।

नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।

झाँक्रीको आक्रामक अभिव्यक्तिको अंश यस्तो थियोः

पार्टी बनाउने….यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं । कसरी गर्ने ? अर्ली महाधिवेशन गरौं । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी ? म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।