कुलमान घिसिङले घोषणा गरे ‘उज्यालो अभियान’


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २४ २०८२
1.8K
SHARES

२४ असार दोहा (कतार) । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् । कतारको दोहामा बसोबास र काम गर्दै आएका नेपालीसँगको भेटघाटमा घिसिङले आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए ।

कतारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गरे ।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताए । “उज्यालो अभियान बत्तीको मात्र हैन, सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो, यसको कार्यान्वयनका लागि नेतृत्व परिवर्तन आवश्यक छ,” घिसिङले भने ।

कार्यक्रममा कतारमा रहेका नेपाली समुदायकोतर्फबाट लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न समुदायको संस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । यसअघि बहराइनमा रहेका नेपाली समुदायकातर्फबाट पनि उनलाई सम्मान गरिएको थियो ।  घिसिङ मध्यपूर्वको भ्रमण गरेर राजनीतिमा उत्रने संकेत गरेका छन् ।