ओलीले कांग्रेसलाई तर्साउँदैछन्
३ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन् ।
पार्टी सम्वद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे ।
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको ऋंखला काँग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो । सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए ।
ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्धामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ । रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने । ‘एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने । राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्धा लगाएर एकीकृ समाजवादी आफूमा गाभ्ने । उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने’ पुनले भने, ‘हेर्दै जानुस् काँग्रेस गठबन्धनबाट अलिकती चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्धा लगाउने तयारी गर्नुभएको छ । उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर काँग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ ।’