मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदैछ – महासचिव भुसाल
६ साउन काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेमा भइरहेको नेतृत्व हस्तान्त्ररणको बहसप्रति कटाक्ष गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष नेतृत्व छाड्दिन भन्दा पनि दोस्रो तहका नेताहरुले प्रतिवाद गर्न नसकेकोप्रति भुसालले कटाक्ष गरेका हुन् । पुष्पलाल श्रेष्ठको स्मृति दिवसको पूर्वसन्ध्यामा स्कुल अफ माक्सीज्मले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले युवा पुस्ताले नेतृत्व हस्तान्तरणको बहस उठाउँदा पनि सुनुवाई नभएकोमा असन्तुष्टि ब्यक्त गरे । नेतृत्व परिवर्तनको बहस उठिरहेको भन्दै उनले भने, ‘हाम्रो आन्दोलनको नेतृत्व अझै के भन्छ भने, अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नु, अर्कोले लजाइलजाइ बीसै वर्ष त होइन, १०–१५ वर्ष चैं मैले अरुलाई तयार गर्छु तर छोड्दिन्छु ।’
एमालेको सचिवालय बैठक र केन्द्रीय समिति बैठकमा पार्टीका थुप्रै नेताहरुले अझै पनि अध्यक्ष ओलीको विकल्प नरहेको बताएकोप्रति भुसालले कटाक्ष गरेका हुन् ।‘एउटा जमात यस्तो च्यालेन्ज गर्दैछ, अर्को जमात आजै त्यता च्यासलतिर १० वर्ष, २० होइन, तिमी आजीवन मरणोपरात्न भइराख्नु भनेर आरती उतार्दैछ, यो कस्तो विरोधाभास हो’, भुसालले प्रश्न गरेका छन् ।जनवादी आन्दोलनका नेतृत्वकर्ताहरुको स्मरण गर्दै भुसालले नेपालका हकमा कम्युनिष्ट आन्दोलन सर्वश्रेष्ठ भौतिक आन्दोलन भएको तर्क गरे ।