अमेरिकाले पठायो एमसीसी निरन्तरताको पत्र


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १२ २०८२
3.4K
SHARES

१२ साउन काठमाडौं । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई निरन्तरता दिने भएको छ । अर्थ मन्त्रालयले सोमबार (साउन १२) एक विज्ञप्ति जारी गरी नेपालमा एमसीसी निरन्तर रहने जनाएको छ ।०८१ फागुन २२ गते पत्र पठाएर अमेरिकाले पुनरवलोकनका निम्ति एमसीसी स्थगन गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेसँगै वैदेशिक सहायता पुनरवलोकनका निम्ति ९० दिन स्थगन गरेका थिए । त्यसमा एमसीसी परियोजना समेत परेको थियो ।

एमसीसीले सन् २०२५ जुलाई २४ को पत्रबाट उक्त पुनरवलोकन कार्य सकिएको र परियोजना निरन्तर रहने जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ ।पाँच वर्षमा सकाउने गरी नेपालमा एमसीसी परियोजना ०८० भदौ १३ देखि सुरु गरिएको थियो । तर, करिब पाँच महिना रोकिएकाले परियोजना समयमै सकिनेमा शंका छ ।

अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी परियोजनाको समयावधिका विषयमा अझै स्पष्ट नभएको बताए । “एमसीए नेपालले भदौसम्म प्रसारणलाइन ठेक्कासम्बन्धी काम सक्ने भनेको छ,” उनले भने, “अहिलेको सन्दर्भमा परियोजनाले निरन्तरता पाउनु नै ठूलो कुरा हो । समय त बिस्तारै थपघट होला नि !”