ऋणको ब्याजदर बढायो विश्व बैंकले


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १३ २०८२
4K
SHARES

१३ साउन काठमाडौं । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले विश्व बैंकले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको जानकारी दिएका हुन् ।सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदरलाई बढाएर १.५ प्रतिशत पुर्‍याएको जानकारी दिइएको हो । महाशाखा प्रमुख शर्माले भने, ‘वर्ल्ड बैंकले गएको यहीँ जुलाईदेखि इन्ट्रेस्ट रेट बढाएको छ । त्यो चाहिँ हामीले ४० वर्षभित्र तिर्ने गरि लिने गरेका थियौँ । अहिले म्याच्युरिटी अवधि पनि २४ मा थप ६ वर्ष गरेर ३० वर्ष भएको छ । यसअघि यस्तो अवधि ४० र ३८ वर्षे दुइटै दुई खालको थियो । अब ३० वर्षमा बनाइएको छ ।’

नेपाल गरिब राष्ट्रहरूको सूचीबाट स्तरोन्नति भएकाले ऋणको ब्याजदर स्वाभाविक रूपमा बढेको उनको भनाइ छ । ब्याजदर बढाउनुका कारण खुलाउँदै उनले भने, ‘हामी धनी भएको कारणले बढेको हो, कारण अरू केही पनि छैन । गरिब राष्ट्रहरूको सूचीमा नेपाल सबभन्दा लो लेभलमा थियौँ । त्यो तल क्याटगरीबाट हामी अलिकति माथि आएका छौँ ।’

हालै विश्व बैंक र एसियाली विकास बैंकले आ—आफ्नो स्ट्राटेजी पनि ल्याएकाले ती स्ट्राटेजीहरूसँग सामञ्जस्यता मिलाउने गरि विकास सहायतालाई अघि बढाउने उनको भनाइ छ । उनले भने, ‘कन्ट्री पार्टनर फेमबर्क भनेर वर्ल्ड बैंकले ल्यायो कन्ट्री पार्टनर्स स्ट्राटेजी भनेर एडीबीले ल्यायो । ती दुई वटा डकुमेन्ट पनि हामीसँगकै सहकार्यमा बनेको थियो। त्यो डकुमेन्टहरुमा पनि जुन कुराहरू प्रायोरिटी भनेर उल्लेख त्यसैलाई आधार बनाएर विकास सहायता अघि बढ्ने हो । नेपालको विकास सहायतामा उनीहरूकै ८० प्रतिशत योगदान छ ।’नेपालले लिने सबै विकास सहायतालाई छनोटपूर्ण बनाउन प्रोजेक्ट रेडिनेस फिल्टर जारी गरेको उनले जानकारी दिए । उनले परियोजनाको गुणस्तर र प्रतिफलमा केन्द्रित भएर मात्रै फिल्टर ल्याएको बताए । उनले भने, ‘कतिपय चाहिँ हिजो कुनै मन्त्रालयले जति सजिलै प्रोजेक्टहरू एप्लाई गर्न खोजेमा त्यो अब नहुन सक्छ । बढी प्रोजेक्ट लिइहाल्ने जुन चाहना हुन्थ्यो, त्यो चाहनामा ब्रेक लाग्ने भएको छ ।

वैदेशिक सहायता लिने र दिने दुवै पक्षमा सहमति नभई कार्यान्वयन नहुने भएकाले यसमा नेपालले प्राथमिकताका आधारमा वैदेशिक सहायता पाउन नसकिने बताए । उनले भने, ‘वैदेशिक सहायताको कता कता आलोचना पनि गरेको देखिन्छ । हाम्रो प्राथमिकता हुनु पर्‍यो नि हामीले भने ठाउँमा लाउनु पर्‍यो भन्ने गुनासो आउँछ ।’