नेपाल पुनर्बिमाको शतप्रतिशत हकप्रद निष्कासन गरिने
१५ साउन काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले हाल कायम चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा कम्पनीले सेयरधनीबाट नै पुँजी उठाउने निर्णय गरेको हो ।नेपाल बिमा प्राधिकरणले ०८० माघमा एक वर्षभित्र पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णय गरेको थियो । तर, यस कम्पनीले हालसम्म पुँजी वृद्धिको योजना प्राधिकरणमा बुझाएको थिएन । तोकिएको समयमा योजना नबुझाएपछि प्राधिकरणले एक वर्ष समय थप गरी ०८२ माघ मसान्तसम्मको समय दिएको छ ।
कम्पनी सञ्चालक समितले हाल कायम रहेको १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तर्राष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन चुक्तापुँजी २६ अर्बभन्दा बढी कायम गर्नुपर्ने व्यवस्थापनको सुझाव थियो ।सोही सुझावअनुसार, अर्थ मन्त्रालयको स्वीकृति लिएर सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव आगामी साधारण सभामा विशेष प्रस्तावका रूपमा पेस गर्ने सञ्चालक समितको निर्णय छ ।
सेयरमूल्यलाई प्रभावित पार्ने गरी कम्पनीले निर्णय गरेपछि कतिपयले शंका गरेका छन् । दुई वर्षसम्म निर्णय नगरेर एकाएक सेयरमूल्य बढिरहेका बेला निर्णय गरेपछि अर्थपूर्णरूपमा हेर्न सकिन्छ ।पछिल्लो एक वर्षमा कम्पीको सेयरमूल्य ८०० भन्दा तल झरेको थियो । तर, यो समयमा कम्पनीले केही गृहकार्य गर्न सकेन ।कम्पनीको हकप्रद स्वीकृति हुन नै समय लाग्छ । तर, प्रक्रियाबारे जानकारी नभएका लगानीकर्ता महँगो हकप्रद सेयरको हल्लामा उत्साहित हुन्छन् । जसले प्रभावित हुन्छ ।
कम्पनीको हाल सेयरमूल्य एक हजार ६२६ रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्दा कम्पनीको सेयरमूल्य समायोजन हुँदा ८०० रुपैयाँ कायम हुन्छ । यस कम्पनीको १६ सय रुपैयाँमा सेयर किन्नेलाई घाटा लाग्नेछ । पुँजीवृद्धि भएपछि कम्पनीको डिमान्ड र सप्लाईमा प्रभाव पर्छ । कम्पनीको पर्फमेन्स राम्रो नभएपछि सेयरमूल्य घटेर ८०० भन्दा तल आउन सक्छ ।