खराब कानुन ल्याउँदैनौँ, शंका गर्नुपर्दैन – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २० २०८२
3.9K
SHARES

२० साउन काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले खराब कानुन ल्याउन लागेको भनेर आशंका नगर्न आग्रह गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्अन्तर्गतको विधेयक समितिको बैठकपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग कानुनमा खराब कुराहरू आउँछन् भनेर आशंका नगर्न आग्रह गरेका हुन् ।उनले मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी कानुन गरी पाँच विधेयकमा संशोधनको प्रस्ताव भएको जानकारी दिए ।

बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले गर्नुहुने संविधानकै व्यवस्था कुनै पनि सजायको माफी, मुलतबी अथवा दण्ड सजायको परिवर्तनसम्बन्धी व्यवस्थालगायत केही व्यवस्थामा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको उनको भनाइ थियो ।

बैठकले बहुविवाहसम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्था र कैद जरिवानाको मुलतबी माफी परिवर्तनसम्बन्धी व्यवस्थामा थप छलफल गर्नुपर्ने र संशोधन र परिमार्जन गर्नुपर्ने देखिएको हुनाले विधेयक समितिमै उपसमिति बनाएर समस्या समाधान गर्नेगरी अघि बढ्ने निर्णय गरेको उनले उल्लेख गरे । उनले उपसमितिले सम्बन्धित मन्त्रालयको राय सल्लाह लिएर र अरू पनि आवश्यक छलफल गरेर विधयकलाई संशोधन, परिमार्जन गरेर अघि बढाइने बताए