प्यान अपडेट गर्न ‘एनआईसी एशिया बैंक’ को अनुरोध
२६ साउन काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । आयकर ऐन २०५८ बमोजिम कर कट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक आवश्यक भएको बैंकले जनाएको छ ।
ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी वा आफूलाई सुविधाजनक कुनै पनि शाखामा उपस्थित भई प्यान अद्यावधिक गर्न सक्नेछन् ।प्यान अद्यावधिक भएपछि निक्षेपकर्ताको ब्याज भुक्तानीमा काटिएको करको विवरण सो प्यानमा प्रविष्ट हुनेछ, जसले गर्दा आयकर प्रणालीले स्वचालित रूपमा कर कट्टीको विवरण मिलान गर्नेछ ।
यसले कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सकिनेछ, साथै बैंकसम्म प्रत्यक्ष जानुपर्ने आवश्यकता हट्नेछ । बैंकले प्यान अद्यावधिक नगरिएकै कारण ब्याज कर दाखिला नहुने वा त्यसमा थप समायोजन गर्नुपर्ने अवस्थामा जिम्मेवारी नलिने स्पष्ट पारेको छ ।साथै, यसअघि प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएका ग्राहकहरूले नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र (फोन स् १६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।