अहिले घरकर्जा लिनेलाई अवसर


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज २७ २०८२
798
SHARES

२७ असोज काठमाडौं । घर बनाउने सोच राख्नेका लागि अहिलेको समय निकै उपयुक्त देखिएको छ । हाल वाणिज्य बैंकहरूले असोज महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घट्दै गएको छ ।यसको प्रत्यक्ष फाइदा घरकर्जा लिने ग्राहकहरूले पाउँदैछन् । ब्याजदर घट्दा घरकर्जा सस्तो हुने भएकाले धेरैले अहिले आफ्नो घर निर्माण वा खरिदको योजना अघि बढाइरहेका छन्।

नेपाल राष्ट्र बैंकले बैंकहरूको ब्याजदरसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । त्यस अनुसार भदौमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दुमा रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ । यसरी हेर्दा यो ०.११ प्रतिशतविन्दुले घटेको हो।

हाल देशभरका २० वाणिज्य बैंकमध्ये ९ वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । ब्याजदर घट्नुको मुख्य कारण प्रणालीमा पर्याप्त तरलता हुनु र ऋणको माग अपेक्षाकृत रूपमा कम हुनु हो। बैंकहरूमा रकम थुप्रिँदै गएकोले कर्जा प्रवाहमा प्रतिस्पर्धा बढ्दै गएको छ । यही प्रतिस्पर्धाको वातावरणमा अहिले बैंकहरूले घरकर्जामा स्थिर ब्याजदर योजना ल्याएका छन् । स्थिर ब्याजदरको अर्थ कर्जा लिँदा जुन ब्याजदरमा सहमति हुन्छ, त्यो ऋणको सम्पूर्ण अवधिभर परिवर्तन हुँदैन । यसले ग्राहकलाई आर्थिक योजना बनाउन सहज बनाउँछ, किनकि प्रत्येक महिनाको किस्ता स्थिर रहन्छ । बजारमा अहिले ७.४९ प्रतिशतदेखि ११.६५ प्रतिशतसम्मको स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध छ ।

एभरेष्ट बैंकले सबैभन्दा सस्तो ७.४९ प्रतिशत ब्याजदरमा घरकर्जा दिने योजना ल्याएको छ । ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशतमा घरकर्जा दिइरहेको छ। नबिल बैंकले ७ वर्षको लागि ८.९९ प्रतिशत र १० वर्षको लागि ९.४९ प्रतिशत ब्याजदरमा स्थिर घरकर्जा उपलब्ध गराएको छ ।

यस्तै लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, नेपाल बैंक, प्राइम बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आफ्ना ग्राहकका लागि विभिन्न स्थिर ब्याजदरका आकर्षक योजना सञ्चालनमा ल्याएका छन् ।