मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०८२
2.2K
SHARES

५ कार्तिक मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ ।

चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ। हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए। उनका अनुसार हालसम्म ६५७ चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालसामान बाहक कन्टेनरको जाँचपास भएको हो । यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए ।

कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।