बैंकहरुमा चुलिँदै गैरबैंकिङ सम्पत्ति


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८२
950
SHARES

७ कात्तिक काठमाडौं । खराब कर्जा असुली प्रभावकारी नहुँदा बैंकहरुमा चालु आर्थिक वर्ष २०८२।८३ को दुई महिना भदौसम्म थप २० करोड रुपैयाँबराबर बढीको गैरबैंकिङ सम्पत्ति थपिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको हो। कर्जा विस्तार हुन नसक्दा बैंकहरुको लागत बढिरहेको छ भने पुरानो कर्जा असुलीमा सकस हुँदा बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ।

बैंकिङ क्षेत्रमा देखिएको सुस्तता अझै सुधार हुन सकेको छैन। निजी क्षेत्रले कर्जाको माग नबढाउँदा बैंकिङ क्षेत्रमा थप दबाब सिर्जना भइरहेको छ।बैंकहरुमा निक्षेप बढ्दो क्रममा रहेको छ। अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ।

चालु आर्थिक वर्षको भदौसम्म समग्र बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ४.६२ प्रतिशत रहेको छ। यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल ५० अर्ब ७५ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असार मसान्तसम्म ५० अर्ब ५५ करोड १० लाख रुपैया रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। पछिल्लो २ महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा थप २० करोड १० लाख रुपैयाँबराबर गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

चालु आर्थिक वर्षको भदौसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.४४ प्रतिशत रहेको छ। समीक्षा वर्षसम्म वाणिज्य बैंकहरुमा ४२ अर्ब ९१ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म वाणिज्य बैंकहरुमा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो।

यसैगरी चालु आर्थिक वर्षको भदौसम्म विकास बैंकहरुको औसत एनपीएल ५.०३ प्रतिशत रहेको छ। समीक्षा अवधिसम्म विकास बैंकहरुमा ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म विकास बैंकहरुमा ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो।

उता फाइनान्स कम्पनीहरुको एनपीएल चालु आर्थिक वर्षको भदौमा ११.०५ प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६ करोड ९० लाख रुपैयाँबराबरको रहेको छ। अघिल्लो आर्थिक वर्षको असारसम्म गैरबैंकिङ सम्पत्ति ३ अर्ब ९ करोड १० लाख रुपैयाँबराबरको थियो।