५ खर्ब ४० अर्बको वैदेशिक व्यापार, करिब चार खर्ब घाटा


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२
1.7K
SHARES

९ कार्तिक काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा ५ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि असोजसम्म ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको २६.०४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।

भन्सार विभागका अनुसार चालू आवको तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १९।७९ प्रतिशत बढी हो । सो अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, यस अवधिमा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८९।६४ प्रतिशत बढी हो । त्यसबेला ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।यस अवधिमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत आवको सो अवधिमा नेपालले ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।