बढ्यो नेप्से
२५ कात्तिक काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबार (कात्तिक २५) नेप्से परिसूचक ३.२१ ले बढेर २,५६५.१६ विन्दुमा बन्द भएको हो । यस दिन कारोबार रकम घटेको छ । यसदिन तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँमा सेयर खरिदबिक्री भएको छ । सोमबार चार अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबबिक्री भएको थियो ।
आज १४२ कम्पनीको सेयरमूल्य बढेको छ । १०२ कम्पनीको सेयरमूल्य घटेको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ ।शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ऋणपत्र १० प्रतिशतले बढेको छ । १० वर्षे अवधिको आठ प्रतिशत ब्याज दिने यो ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजार घटेको समयमा लगानीकर्ता बढी ब्याज दिन ऋणपत्रमा लगानी गर्न इच्छुक देखिएका छन् ।
बन्दीपुर केबलकार एन्ड टुरिजमको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र माबिलुङ इनर्जीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ । साहस ऊर्जा लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो कम्पनीले आज सेयरधनीलाई २२.१० प्रतिशत लाभांश र १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर खरिद गर्ने बढेका हुन् । कारोबारमा आएका १३ मध्ये सात समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।