चेक बाउन्सलाई धेरै अपराधीकरण नगरौँ – गभर्नर पौडेल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८ २०८२
2K
SHARES

२७ कात्तिक काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचीमा राख्ने क्रम अस्वाभाविकरूपमा बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभामा गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु स्वाभाविक नभएको बताए । उनले कालोसूचीमा राखेकै कारण कर्जा लिनेको संख्या बढ्न नसकेको आशंका गरे । गभर्नर पौडेलले चेक बाउन्सलाई धेरै नै अपराधिकरण गर्न नहुने पनि बताए ।

“ब्ल्याक लिस्टको ठूलो इस्यू भएको छ । अहिले डेढ लाख मान्छेहरू कालोसूचीमा पर्न थाले । चेक बाउन्सलाई नै हामीले अपराधीकरण गरिदिदियौँ । चेक त मेरै कतिवटा बाउन्स भएको थियो विद्यार्थीकालमा । कहिलेकाहीँ कति रुपैयाँ छ भनेर थाहै हुँदैन । चेक काटिन्छ । चेक बाउन्सलाई क्रिमिनलाइज गर्न कति जरुरत हो ? अरू देशमा के छ ? जरिवाना तिरेर हुने हो कि ? हामी कति जनालाई क्रिमिनलाइज गर्ने हो ?,” उनले भने ।

गभर्नरले थपे, “यसमा छलफल हुन जरुरी छ । कुन लिमिटमा कसरी हेर्ने यसमा रिभ्यू हुनुपर्छ भनेर हामी छलफलमै छौँ । यो देशमा १० लाख एन्टरप्रेनर होला डेढ लाख मान्छेलाई कालोसूचीमा राखेपछि कर्जाको डिमान्ड नबढ्ने एउटा कारण हो कि जस्तो देखिरहेको छ । यसमा हामीले केही महिनाअघिदेखिनै हेरिरहेका छौँ ।”

गभर्नर पौडेलले बैंकहरूलाई नै अप्ठेरो पार्ने खालको नीति भए पुनरवलोकन गरिने पनि बताए । “लोन लस प्रोभिजनको इस्यू अहिले आइरहेको छ । यसमा अहिले हामीले धेरै छलफल गरिरहेका छौँ । बैंकहरूलाई धेरै कडा गरिरहेका छौँ कि । यता पनि च्यापेर उताबाट पनि च्यापेर हामीले अप्ठ्यारोमा बनाएका छौँ कि भनेर एकपटक रिभ्यु गरौँ भन्नेमा छौँ हामी,” उनले भने ।गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई व्यवसायमा लगानी बढाउनसमेत आग्रह गरे । उनले बैंक व्यवसाय नै रहेकाले बिजनेसमा लगानी गर्नुपर्नेमा जोड दिए ।