महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २९ २०८२
1.4K
SHARES

२९ कार्तिक काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताए।

“हामी (महासंघ)ले उद्यमी व्यवसायीका हरेक अफ्ठ्यारा र समस्या समाधानका लागि प्रयत्न गर्दै आएका छौँ । चाहे त्यो उद्योगको श्रम समस्या होस्, वा डेडिकेटेड तथा ट्रंकलाइन विवादको विषय होस् । लगानीको वातावरण निर्माणका लागि कानुन परिवर्तनको कुरा होस्, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको कुरा होस्, वा कालाबजारी ऐन संशोधनको कुरा, हामी उद्यमी व्यवसायीका समस्या समाधानका लागि राज्यसँग छलफल, सम्वाद र वार्ता गरी त्यसको समाधान निकाल्ने प्रयत्न गरेका छौँ,” उनले भने ।

अध्यक्ष ढकालले लामो समयदेखि बल्झिरहेको डेडिकेटेड तथा ट्रंकलाइन विवादको समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की तथा ऊर्जा मन्त्री कुलमान घिसिङ्गलाई गरेको आग्रहलाई उनीहरुले गम्भिरतापूर्वक लिएको बताउँदै समस्याको समाधानका लागि पहल लिएकोमा प्रधानमन्त्री तथा ऊर्जामन्त्रीलाई धन्यवाद समेत व्यक्त गरे ।