उपमेयर सुनिता डंगोलको अभियान: चोरिएका सम्पदा संग्रहालयमा होइन समुदायमै पुनर्स्थापना
२ मंसिर काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएका देवी देवताका मूर्तिलगायत सम्पदाहरु अब संग्रहालयमा नभएर समुदायकै जिम्मामा जहाँको त्यहिँ पुनर्स्थापना गर्ने निर्णय गरेको छ । उपमेयर सुनिता डंगोलको अगुवाईमा भएको सरोकारवालाबीचको सर्वपक्षीय छलफलपछि यो निर्णय भएको हो ।करिब २५ वर्षअघि हराएको कुमारी छेँको तोरण बेलायतको बाराकाट ग्यालरीबाट फिर्ता गरेर छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएकोमा अब यो सम्पदा कुमारी घरमै पुनस्र्थापना हुने भएको छ । उपमेयर डंगोलका अनुसार महानगरपालिका वडा नम्बर २३ को संयोजन तथा सरोकारवाला र समुदायतको समन्वयमा कुमारी घरमा पुनर्स्थापना हुने भएको हो । चोरिएका सम्पदाहरु पुनर्स्थापना गर्ने क्रममा यो महत्वपूर्ण निर्णय भएको उपमेयर डंगोलले बताएकी छन् ।
डंगोलले भनिन्, ‘यो निर्णय महत्वपूर्ण हो । किनभने यसले सम्पदाहरुलाई जीवन्तता प्रदान गर्छ भने प्राचीनतालाई संरक्षण र संवद्र्धन गर्छ साथै मौलिक सिर्जनाप्रति गौरव गर्ने वातावरण सिर्जना हुन्छ ।’ उनले यी सम्पत्ति पूर्खाको सिर्जना भएको र खुला ठाउँमा भन्दा बन्द कोठामा सुरक्षित हुन सक्ने भाष्य निर्माण गर्न खोजिएको बताइन् । ‘यो सत्यता होईन हाम्रा सम्पदा समुदायमा रहँदा नै जीवन्त रहन्छन्,’ उनले भनिन्, ‘हामी हाम्रो समुदायलाई विश्वास गर्छौं र हाम्रो एकताले नै हाम्रो सम्पदाको संरक्षण गर्न सक्छौं भनि विश्वास गर्दछौँ सोही कारण समुदायको स्वामित्वमा पुनर्स्थापनाको कार्य गर्दैछौँ ।’
‘सांस्कृतिक जिवन्त शहर काठमाडौँ महानगर क्षेत्रबाट चोरिएका धेरै यस्ता सम्पदा हामीले पहिचान गरेका छौँ,’ उनले भनिन्, ‘ती सम्पदाहरुलाई वडाको अगुवाईमा पुनर्स्थापना गर्ने कामलाई अभियानकै रुपमा अगाडि बढाउने छौँ ।’ उपमेयर डंगोलले यो अभियान काठमाडौँको सांस्कृति पहिचान वृद्धि गर्नका लागि भएकाले सबै सम्पदाप्रेमीको सहभागिताको अपेक्षा राखेकी छन् ।