ट्रम्पले इरानसँगको सम्झौताबारे के भने ?


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र १६ २०८२
1.3K
SHARES

१६ चैत काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने सम्भावना रहेको बताएका छन्। तर उनले यसबारे पूर्ण निश्चितता नभएको पनि स्पष्ट पारेका छन्। विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्नेछौं, लगभग पक्का जस्तै छ, तर हुन पनि सक्छ, नहुन पनि सक्छ।” उनले इरानसँगको वार्ता सधैं अनिश्चित हुने भन्दै परिस्थिति कहिले पनि बदलिन सक्ने उल्लेख गरे।ट्रम्पले इरानको राजनीतिक अवस्थाबारे पनि टिप्पणी गर्दै त्यहाँ ‘सत्ता परिवर्तन जस्तै स्थिति’ देखिएको दाबी गरे।

उनले भने “पहिलो शासन पूर्ण रूपमा समाप्त भइसकेको छ, नष्ट भएको छ। दोस्रो शासनका अधिकांश व्यक्तिहरू पनि समाप्त भइसकेका छन्। अहिले हामी तेस्रो चरणका फरक समूहसँग व्यवहार गरिरहेका छौं, त्यसैले यसलाई सत्ता परिवर्तनकै रूपमा लिन सकिन्छ।”उनले थपे, “मलाई लाग्छ, अहिलेको अवस्था नै सत्ता परिवर्तन हो, यसभन्दा राम्रो अवस्था हुन सक्दैन।”

इरानसँगको सम्बन्धबारे बोल्दै ट्रम्पले भने, “इरानको मामिलामा तपाईंले कहिल्यै केही निश्चित भन्न सक्नुहुन्न। हामी उनीहरूसँग वार्ता गर्छौं र कहिलेकाहीँ कारबाही गर्नुपर्ने अवस्था पनि आउँछ।” यसैबीच, पाकिस्तानले अमेरिका र इरानबीच सम्भावित वार्ताका लागि आफ्नो भूमिका रहने दाबी गरेको छ। तर अहिलेसम्म अमेरिका वा इरानले औपचारिक रूपमा शान्ति वार्तामा सहभागी हुने पुष्टि गरेका छैनन्।