प्रधानमन्त्रीले संसद्को मानमर्यादा राख्नुभएन – सभापति थापा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ३१ २०८३
171
SHARES

३१ भाद्र काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले संसद् र संसदीय समितिको मानमर्यादा कायम नराखेको बताएका छन् ।सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसद्लाई नै बेवास्ता गर्ने खालको व्यवहार देखिएको बताए ।

“संसद्को संस्थालाई नै भाउ नदिने खालको रवैया रहेको हुँदा यत्रो संसदीय समिति बनाउने भन्यौँ, जिम्मेवारी पनि दिएका छौँ,” थापाले भने, “तर, प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई मानमर्यादा राख्नुभएन, यसरी नै हेपिराख्नुभयो भने त्यो बेलामा चाहिँ के गर्ने त ?”

सर्वदलीय बैठक बोलाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थापाले धन्यवाद दिए । तर, प्रधानमन्त्री रास्वपाकै भएकाले संसदीय समितिप्रति सरकारको व्यवहारबारे लामिछानेले हेक्का राख्नुपर्ने उनले बताए ।

संसदीय समितिले प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने र त्यसका आधारमा काम गर्ने विषयमा सामान्य छलफल गर्नसमेत प्रधानमन्त्रीले रुचि नदेखाए त्यसबारे गम्भीर रूपमा सोच्नुपर्ने थापाको भनाइ छ ।

“संसदीय समितिले प्रतिवेदन तयार गर्ला अनि बुझ्ने, त्यसका आधारमा काम गर्ने कुराको सन्दर्भमा सामान्य छलफलमा पनि प्रधानमन्त्रीले रुचि नराख्नुहोला,” थापाले भने, “यस विषयमा हेक्का राख्न पार्टी सभापति लामिछानेको ध्यानाकर्षण गराउँछु ।”